उदयपुर, भदौं २८ गते ।
स्थानिय तह र सरकारले कोभिडको समयमा विद्यालय शिक्षालाई परिमार्जित र स्वास्थ्य सुरक्षा सहित बालबालिकाहरुको पठन पाठन कार्यलाई प्रभावकारी रुपमा अगाडी बढाउन स्थानिय सरोकारवालाहरुले आवाज उठाएकाछन् ।
प्रत्येक बर्ष ८ सेप्टेम्बरको दिन पर्ने अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित साप्ताहिक कार्यक्रमको अवसरमा आज सोमबार उदयपुरको रौतामाई गाउँपालिकाको मुर्कुचीमा आयोजित अन्त्तरक्रिया कार्यक्रमका सहभागी सरोकारवालाहरुले सो कुरामा जोड दिएका हुन् ।
शिक्षाका लागि राष्ट्यि अभियान नेपाल (एनसीई) जिल्ला समन्वय समिति उदयपुरको आयोजना र शिक्षा सरोकार मञ्च उदयपुर, जाल्पा एकिकृत विकास समाज उदयपुर, नेपाल स्काउट मुर्कुची र नमुना माध्यमिक विद्यालय मुर्कुचीको सहकार्यमा आयोजित “कोरोना महामारीले निम्त्याएको शैक्षिक असमानता र यसको सम्बोधन” गाउँपालिका स्तरीय अन्त्तरकृया कार्यक्रममा उपस्थित दर्जनौं बालबालिकाहरुले सरोकारवालाहरु माझ आ आफना समस्याहरु व्यक्त गरेकाछन् ।
एनसिई जिल्ला समन्वय समितिका अध्यक्ष पुष्पराज पोखरेलको अध्यक्षतामा आयोजित अन्त्तरकृया कार्यक्रममा नमुना माध्यमिक विद्यालयका प्रनाध्यापक खड्ग बहादुर थापा र माधव प्रसाद दहालले “कोरोना भाईरस संक्रमणले शैक्षिक क्षेत्रमा पारेको प्रभाव र असरहरु” विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने शिक्षा सरोकार मञ्चका अध्यक्ष जसबहादुर कार्कीले शैक्षिक क्षेत्रको सुधारका लागि स्थानिय स्तरमा गर्न सकिने प्रयासहरु विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रमको दोश्रो सत्रमा खुल्ला छलफलको क्रममा स्थानिय बालबालिकाहरुले शिक्षा सँग सम्बन्धीत सरोकारवालाहरु माझ विभिन्न प्रतिक्रियाहरु पनि राखेकाछन् । कार्यक्रममा बोल्दै नमुना माध्यमिक विद्यालय मुर्कुचीमा कक्षा ९ मा अध्ययनरत छात्रा कृशला मगरले आफूहरु जस्ता बालबालिकाहरुले कोभिड १९ को समयमा पठन पाठन कार्यलाई नियमित रुपमा अगाडी बढाउन नसकेको, सिकाई प्रक्रियामा सहजीकरणको अभाव महशुस गरेको र प्रविधि मैत्री वातावरण समेत निर्माण हुन नसकेको गुनासो राखेकी थिईन ।
त्यस्तै कार्यक्रमका अर्का सहभागी स्थानिय बाल क्लबकी प्रतिनिधि कक्षा १० मा अध्ययनरत स्वर्णिमा राना मगरले यस अन्तरकृया कार्यक्रमले उठाउन गरेको विषयले बालबालिकाहरुको वर्तमान शैक्षिक अवस्थाको बारेमा उजागर गरेको बताईन । उनले कोभिड महामारी पुनः आउनसक्ने सम्भावना भएकोले सरोकारवालाहरुले आफूहरुको बारेमा ठोस योजना ल्याउनुपर्ने कुरामा जोड दिइन ।
किशोरकिशोरी समुहका साथी सहजकर्ता कक्षा १२ मा अध्ययनरत सुस्मा कुमारी सार्कीले अनलाईन कक्षाहरु आफूहरुका लागि खासै प्रभावकारी नभएको, महंगो मोबाईल र ईन्टरनेट नेटवर्कको अभावका कारण आफूहरु जस्ता विपन्न परिवारका बालबालिकाहरु अनलाईन कक्षाबाट बञ्चित समेत हुनपुगेको बताईन ।
कार्यक्रममा रौतामाई गाउँपालिका वडा नं। ७ र ८ का वडा अध्यक्षहरु उत्तरकुमार मगर र टेकबहादुर बलम्पाकीले स्थानिय तहको शैक्षिक गतिविधिहरु बारे जानकारी गराएका थिए । कार्यक्रममा एनसीईका सदस्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, गैसस महासंघका उदयपुरका सचिव सिएम गुरागाई, गाउँपालिका स्तरमा रहेका विद्यालयका प्रधानाध्यापक, शिक्षक, स्थानिय जनप्रतिनिधिहरु, महिला समुहका प्रतिनिधिहरु, शिक्षा क्षेत्रमा कार्य गरिरहेका व्यक्तिहरु, स्थानिय सुरक्षा निकायबाट सुरक्षाकर्मीहरु, बाल क्लबका प्रतिनिधिहरु , पत्रकार लगायत ३ दर्जन सहभागीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण र संचालन एनसीई जिल्ला समन्वय समितिका सचिव अजयकुमार साहले गरेका थिए ।