संयुक्त राज्य अमेरिकाको राष्ट्रिय निद्रा फाउण्डेशनले गरेको अनुसन्धानमा जनाइए अनुसार विभिन्न उमेरका मानिसहरुको निद्राको आवश्यकता पनि फरक हुने गर्छ।
तपाईंले कति घण्टा सुत्नु पर्छ? हामीहरु प्राय:ले आफूलाई पर्याप्त निद्रा नपुगेको सहजै थाहा पाउछौं। तर पर्याप्त निद्रा भनको कति हो त? अमेरिकामा हालै गरिएको एक अनुसन्धानले भनेको छ त्यो तपाईंको उमेरमा भर पर्छ। उमेरले पनि मानिसको निन्द्राको आवश्यकतामा महत्वपूर्ण भूमिका निर्धारण गर्ने गर्छ ।
पढाै कुन उमेर समसुहकाे व्यक्तिले कति समय सुत्ने
नवजात (०-३ महिना)
भर्खर जन्मेका बच्चाहरुले सामान्यतया दैनिक १४ देखि १७ सुत्नु पर्दछ। ११ देखि १३ घण्टा सुत्दा पनि तिनीहरुलाई निद्रा पुग्छ, तर १९ घण्टाभन्दा बढी सुत्न दिनु हुंदैन।
शिशु (४-११ महिना)
यिनीहरुका लागि उपयुक्त १२ देखि १५ घण्टाको निद्रा हो। कम्तीमा १० घण्टा सुत्दा पनि निद्रा पुग्न सक्छ तर शिशुहरुलाई १८ घण्टाभन्दा बढी कहिल्यै सुत्न दिनु हुंदैन।
बामे सर्नेहरु (१-२ वर्ष)
यो उमेरका बच्चाहरुले ११ देखि १४ घण्टा सुत्नु पर्छ। यिनीहरुका लागि स्वीकार्य ९ देखि १६ घण्टाको निद्रा हो।
विद्यालय जानु अघिका (३-५ वर्ष)
विशेषज्ञहरु यो उमेर समूहका बच्चाहरुले १० देखि १३ घण्टा सुत्नु पर्ने बताएका छन्। तर ८ घण्टाभन्दा कम र १४ घण्टा भन्दा बढी निद्रा यिनीहरुलाई उपयुक्त हुंदैन।
स्कुले उमेरका (६-१३ वर्ष)
अमेरिकी निद्रा फाउण्डेशनका अनुसार यो उमेरकाहरुले ९ देखि ११ घण्टा सुत्नुपर्छ। ७ घण्टा भन्दा कम र १२ घण्टा भन्दा बढीको निद्रा यिनीहरुका लागि स्वस्थ मानिएको छैन।
किशोरकिशोरी (१४-१७ वर्ष)
किशोरकिशोरीहरुका लागि सुझाइएको निद्राको अवधि ८ देखि १० घण्टा हो। तर यिनीहरुले ११ घण्टाभन्दा बढी र ७ घण्टाभन्दा कम सुत्नु उपयुक्त नहुने अमेरिकी निद्रा फाउण्डेशनले जनाएको छ।
युवा (१८-२५ वर्ष)
युवा उमेर समूहकाहरुले ७ देखि ९ घण्टा सुत्नु उपयुक्त हो। तर यिनीहरुले ६ घण्टा भन्दा कम र ११ घण्टा भन्दा बढी सुत्नु हुंदैन।
वयस्क (२६-६४ वर्ष)
यो उमेर समूहका लागि सुझाइएको निद्राको अवधि युवाहरुको लागि जस्तै छ।
बृद्ध (६५ वर्ष भन्दा माथि)
यो उमेर समूहका मानिसहरुका लागि दैनिक ७-८ घण्टाको निद्रा स्वस्थ मानिएको छ। तर यिनीहरुले ५ घण्टाभन्दा कम र ९ घण्टाभन्दा बढी सुत्नु स्वस्थ होइन।
८ घण्टाभन्दा कम सुत्नेलाई यस्तो खतरा :
दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डप्रेसन)को समस्या देखिएको एक अध्ययनले देखाएको छ । अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले सो तथ्य पत्ता लागेको जनाएको थियो । सुत्ने समयावधि र मानसिक अवस्था बीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम सुत्नेमा बढी मानसिक समस्या र चिन्ता देखिएको सो अध्ययनमा पत्ता लागेको हो । विश्वविद्यालयले अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनमा बढी सुत्ने मानिसमा भन्दा कम सुत्ने मानिसमा बढी नकारात्मक सोचाई पाइएको पनि उल्लेख गरेको छ ।
- आठ घण्टा भन्दा कम सुत्ने मानिसहरुमा चिन्ता, कुन्ठा, तनाव र निराशा धेरै आउने गरेको सो विश्वविद्यालयद्वारा प्रकाशित मेडिकल जर्नलको पछिल्लो संस्करणमा छापिएको समाचारमा जनाइएको छ ।
- त्यसैगरी सो अनुसन्धानले सुत्ने समयमा अनियमितता भएका मानिसहरुलाई ध्यान एकत्रित गर्न निकै गाह्रो हुने गरेको पाइएको पनि बताएका छन् ।
- सुताई नपुगेका मानिसहरुमा आउने नकारात्मक सोचाईका कारण ध्यान एकत्रित गर्न पनि गाह्रो हुने गरेको अनुसन्धानकर्ताहरुको निष्कर्ष छ ।
- अनियमित सुताई भएकाहरुमा नकारात्मक सोँचको विकास हुने गरेको र उनीहरुको जीवनमा नै नकारात्मक असर समेत पर्ने गरेको पाइएको समाचारमा जनाइएको छ ।
- अनुसन्धान टोलीका एकजना सदस्य जाकोब नोटाले नकारात्मक सोँचका कारण उत्पन्न परिस्थितिले मानिसलाई तनावका साथै मानसिक असन्तुलनतर्फ समेत उन्मुख गराउनसक्ने खतरा देखिएको बताए ।
- अनुसन्धानकर्ताहरुले मानसिक तनाव र चिन्ता कम गर्न नियमित रुपमा र दिनमा कम्तीमा आठ घन्टासम्म सुत्नुपर्ने सुझाव पनि दिएका छन् ।