निश्छल कार्की
कटारी
उदयपुरको कटारी नगरपालिले बच्चा र आमाको स्वास्थ्य अवस्था थाहा पाउन गरिने अल्ट्रासाउण्ड सेवा गाउँमै सुरु गरेको छ । नगरले ग्रामिण भेगमा रहेका सबै स्वास्थ्य संस्थालाई उपलब्ध गराउने उदेश्यका साथ आज वडा नं. ९ लिम्पाटारलाई दक्ष श्वास्थ्यकर्मी सहित अल्ट्रासाउन्ड हस्तान्तरण गरेको हो ।
सुत्केरी हुन अघि गर्भमा बच्चा रहँदा पटक–पटक गर्नुपर्ने भिडियो एक्सरे सेवाका लागि सदरमुकाम सम्म धाउनुपर्ने, पाँच सय रुपैयाँ तिर्नुपर्ने बाध्यता अव हटेको छ। गर्भ अवस्थामा शिशु र आमाको अबस्था कस्तो छ भनेर आफ्नै स्वास्थ्य संस्थाबाट सेवा लिन पाइने भएको छ ।
गर्भवस्था भनेको एकदमै जोखिम अबस्था भएकोले गर्भवतीलाई सदरमुकाम सम्म जान आउन पनि समस्या र उपचार पनि महँगो भएपछि नगरले स्वास्थ्य चौकीबाटै घुम्ती रुपमा यो सेवा दिने निर्णयका साथ अल्ट्रासाउन्ड हस्तान्तरण गरेको उप प्रमुख भिम कुमारी राउतले जानकारी दिनुभयो ।
जन्मनु अघि नै बालवालिकाको स्वास्थ्य अवस्था थाहा पाउन यो सेवा निशुल्क संचालन गरिएको र बालवालिका सबै स्वस्थ जन्मिउन भन्ने उद्देश्यले यो सेवा थालेको उहाँले बताउनुभयो । यो सेवा आजबाट संचालनमा आएको छ ।