गोविन्द लाफाली
रौतामाई ३ लाफागाउ
दायु तामाङटोल
हाल काठमाडौं
पहिलो
कोठा खाली छ अनि सिङ्गै घर खाली छ
तिम्रो लागी यो दिल जिन्दगी भर खाली छ
गाउँमा गाडी आएर मलाई बहुत रुवायो
हेर्नुस् न टेकुवा खाली छ ढाकर खाली छ
बिच सडकमा मायाको ब्यापार गर्छौ रे
आउ मेरो घरमा एउटा सटर खाली छ
चुनाव नआएको पनि धेरै भै सकेछ क्यारे
सिंहदरबारमा एक हुल जनावर खाली छ
घाटमा मसानहरु यस्तो गुनासो गर्दै थिए
खाडी मै नजलाउ युवा यहाँ बगर खाली छ
भन्नुस् शीतलनिवास भत्काउँ या बालुवाटार
मेरो घरमा अचेल एउटा डोजर खाली छ
दोश्रो
गरीबहरुले किन खुसी पैतालामा दवाउनु पर्छ
चुल्होमा मिठो मसिनो पाक्न दसैं आउनु पर्छ
तिमी भन्छौ म बाहेक अरु कसैलाई नहेर्नु अब
त्यसको लागी त मैले दुवै आँखा फुटाउनु पर्छ
श्रीमतीले परदेश जानू भनी कर गरि रहन्छिन्
भन्छिन् राजधानीमा एउटा घर बनाउनु पर्छ
भगवान सङ्ग सधैं म यहि एउटा प्रश्न गरिरहन्छु
किन छोराले बाआमाको चिता जलाउनु पर्छ ?
तिमी पो नयाँ पाइन्ट काटी काटी प्वाल बनाउछौ
हामीले त उहि पुरानोलाई टालेर लगाउनु पर्छ