१८ असार,गाईघाट।त्रियुगा नगरपालिकाको वडा नं.११ मेनचोक सँगै रहेको आदर्श नगर टोल विकास संस्थाले नगर सरसफाई अभियानलाई तिव्रता दिएकोछ ।
टोल विकास संस्थाले शनिवार त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि सगरमाथा राजमार्गमा पर्ने सो टोल विकास क्षेत्रमा दैनिक निष्काशन हुने फोहोर व्यवस्थापनका लागि १७ वटा प्लाष्टिकका ठुला डस्टवीन सडक पेटीमा जडान गरेकोछ ।
टोल क्षेत्र भित्र रहेका ४३ घरधुरीलाई लक्षित गरि घरभित्रका समेत फोहोर व्यवस्थित ढंगले निष्काशन गर्नका लागि ३५ वटा प्लाष्टिकका डष्टवीन समेत वितरण गरेकोछ । सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफनो मन्त्तव्य राख्दै नगर प्रमुख बस्नेतले गाईघाट मुख्य बजार क्षेत्रलाई लक्षित गरि सरसफाई व्यवस्थापन, हरियालीका लागि बगैचा व्यवस्थापन, सडक बत्ति, सिसिक्यामेरा जडान लगायतका कार्य अगामी आर्थिक बर्षको शुरुवातबाटै काम शुरु गर्ने जानकारी गराउनुभयो । उहाँले टोल विकास संस्थाले थालेको अभियानको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा आफनो धारणा राख्दै नगरप्रमुख बस्नेतले नगरको समग्र विकासका लागि टोल विकास संस्थाहरुको सदैव महत्वपूर्ण भुमिका रहने भएकोले नगरपालिकाले आगामी दिनमा सहकार्य र समन्वय गरेर विभिन्न योजनाहरुमा कार्य गर्न आफूले चाहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रमका अतिथि त्रियुगा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष सुमन्त कोईरालाले आदर्श नगरटोल विकास संस्था विभिन्न अभियानहरु संचालन गर्दै नमुना टोलको रुपमा अगाडी बढिरहेकोले अन्य टोल विकास संस्थाहरुले समेत यसरीनै कार्यहरु गर्नुपर्ने बताउनुभयो । उहाँले ११ नं. वडा मुख्य बजार क्षेत्र पर्ने भएकोले यस क्षेत्रलाई स्मार्ट र व्यस्थित गर्न टोलवासीहरु अझ जागृत भएमा वडा कार्यालयले सहकार्य गर्न पछि नपर्ने धारणा राख्नुभयो ।
टोल विकास संस्था समन्वय समितिका अध्यक्ष नविन राईले नगरक्षेत्र भित्रका टोल विकास संस्थाहरुले यसरीनै सकृय भई टोल विकासका लागि अभियान थालेदेखि नगरक्षेत्र सफा भई अझ व्यवस्थित देखिने धारणा राख्नुभयो । उहाँले टोलवासीहरुको क्षमता अभिबृद्धिका कार्यक्रमहरु पनि नगरपालिकाले अगामी दिनमा ल्याउनुपर्ने धारणा राख्नुभयो ।
आदर्शनगर टोल विकास संस्थाका पूर्व अध्यक्ष अजयकुमार साहले टोल विकास क्षेत्रमा रहेका ४३ घरधुरीका महिलाहरुका लागि सिपमुलक, आयमुलक तालिमहरु संचालनका लागि नगरपालिकाले सहयोग उपलब्ध गराउनुपर्ने बताउनुभयो । उहाँले टोल विकास संस्थाले मासिक बचत तथा ऋण कार्यक्रम संचालन गरिरहेको र सोहि कार्यक्रमबाट बचत भएको कोष परिचालन गरि फोहोर व्यवस्थापनका लागि अभियान संचालन गरेको बताउनुभयो ।
संस्थाका अध्यक्ष चतुर प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा टोलका अगुवा अभिभावक अर्जुन चौधरीले टोल विकास सम्बन्धी धारणा राख्नुभयो । उहाँले टोल विकास संस्थाले गाईघाट ट्राफिक चौक देखि पुरानो ट्याम्पु चौक(नगरपालिका जाने बाटो) सम्मको क्षेत्रलाई अझ व्यवस्थीत बनाउँदै लैजान योजना बनाएर अगाडी बढेको बताउनुभयो । कार्यक्रम संचालन संस्थाका सचिव डम्बर चौधरीले गर्नुभएको थियो ।