तीन वर्ष अगाडि अभिनयमा डिप्लोमा गर्न भारत गएको दुई महिनामा सवारी दुर्घटनामा परेर ‘ब्रेन इञ्जुरी’ भएकी अभिनेत्री तथा मोडल निशा घिमिरेका लागि सहयोगी हातहरु जुट्न थालेका छन् ।
बिहीवारदेखि नर्भिक अस्पतालमा उपचारार्थ उनलाई शनिवार चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले सहयोग स्वरुप ५१ हजार प्रदान गर्ने निर्णय गरेको थियो । निशालाई अभिनेत्रीहरुले पनि सहयोग गरेका छन् ।
शनिवार अभिनेत्री द्वय करिश्मा मानन्धर र रेजिना उप्रेतीले निशा बस्दै आएको घरमै पुगेर उनका पितालाई सहयोग रकम हस्तान्तरण गरे । करिश्माले २५ हजार र रेजिनाले १० हजार सहयोग गरेका हुन् ।
अमेरिकामा बस्दै आएकी अभिनेत्री उषा पौडेलले पठाएको २२ हजार पनि हस्तान्तरण गरिएको कलाकार संघले जनाएको छ । यसैगरी, संघले निशाका लागि सहयोग अभियान सुरु गरेको छ । संघका अध्यक्ष रविन्द्र खड्काको नेतृत्वमा सहयोग अभियान सञ्चालन गरिएको संघका प्रवक्ता मोहन निरौलाले विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन् । निशाको उद्दार गरेर निःशुल्क उपचार सुरु गरेकोमा संघले नर्भिक अस्पतालका संस्थापक वसन्त चौधरी र निर्देशक मेघा चौधरीप्रति आभार व्यक्त गरेको छ । सवारी दुर्घटनामा परेपछि निशाको लामो समय भारतमै उपचार भएको थियो । तर, आर्थिक अवस्था कमजोर भएकाले उनको परिवारले अस्पतालको खर्च धान्न सकेन र उनलाई नेपाल ल्यायो । उनको स्वास्थ्यमा सुधार आउनेमा नर्भिक अस्पतालका चिकित्सकहरु विश्वस्त छन् । उनले फिल्म ‘मधेशीपुत्र २’ सँगै केही टेलिसिरियल र थुप्रै म्यूजिक भिडियोमा अभिनय गरेकी छन् ।