सान्नी त्रिवेणी गाउँपालिका ८ ओखलढुंगा, कालीकोटकी कल्पना केसी वालविवाह बिरुद्धको अभियानमा क्रियाशिल छिन् । नागरिक समाज संजालकी सदस्य भएर उनले बाल विवाह र महिला हिंशा बिरुद्ध आवाज उठाइरहेकी छिन् ।
आफै बालविवाह गरेका कारण अनेक समस्या भोगेकी केसी अहिले २३ बर्षकी भइन् । उनको साथमा ८ बर्षको छोरी छिन् । बालविवाहपछि भोग्नुपरेका समस्याहरु सुनाउँदै उनी अहिले साना भाइबहिनीहरुलाई बालविवाह गर्न नहुने शिक्षा दिइरहेकी छिन् । बिद्यालय र गाउँसमाजमा बालविवाह बिरुद्ध तालिम दिने गरेको उनले बताइन् । ‘म आफू जस्तै दुःख अरुले नभोगून् भनेर शिक्षा दिइरहेकी छु,’ उनले भनिन्,‘बालविवाह गर्दा के हुन्छ भन्ने मैले भोगेकी छु । तपाईहरु यस्तो समस्याबाट बच्नुहोस् भन्ने सिकाइरहेकी छु ।’
उनले सादा नेपाल र प्लान नेपालकै सहयोगमा खुद्रा पसल गरिरहेकी छिन् । साथै कृषी व्यवसाय पनि गरिरहेकी छिन् । अहिले उनी आफै सशक्त भएर जीवन निर्वाहमा सहजता भएको छ । आफै बालविवाहका सिकार भएकी केसी अहिले अरुलाई चेतना दिने मुख्य अभियन्ता बनेकी छिन् । नागरिक संजालकी सदस्य भएर उनले अरुलाई आफ्ना अनुभव सुनाउने र सचेत पार्ने काम गरिरहेकी छिन् । ‘मैले आफूले भोगेका कुराहरु अरुलाई सिकाएर सचेत पारिरहेकी छु । सानैमा विवाह गर्दा हुने हानी नोक्सानीबारे चेतना दिइरहेकी छु,’ उनले भनिन्,‘समाजमा सानोमा विवाह गरेर दुःख पाएका धेरै महिला छन् । अब अरुले दुःख नपाऊन् भनेर म अभियन्ता बनेको छु ।’
उनी सानो हुँदा शिक्षा नपाएका कारण बालविवाहमा फसेको बताउँछिन् । ‘आफू सानो हुँदा यस्तै शिक्षा पाएको भए समस्याबाट बच्ने थिएँ । हामीलाई कसैले शिक्षा दिएन,’ उनले भनिन्,‘शिक्षा दिएमा बालविवाहबाट बच्न सकिन्छ भन्ने महशुस भएको छु । यो कुरा अरुलाई पनि सिकाइरहेकी छु ।’
बालविवाहले महिला हिंशा बढाइरहेको उनले बताइन् । ‘सानोमा विवाह गर्दा पारिवारिक रुपमा धेरै समस्या आइरहेका छन् । महिलाले हिंशा भोग्नुपरेको छ । महिला हिंशाको कारण बालविवाह हो,’ उनले भने,‘यो कुरा अहिले बालबालिका र किशोरकिशोरीलाई बुझाइरहेका छौं ।’ समाज सचेत नभएमा बालविवाह जस्ता गलत परम्परा हट्न नसक्ने उनले बताइन् ।
बालबालिका र अभिभावकमा चेतना नहुँदा नै यस्ता घटनाले प्रश्रय पाइरहेको उनले बताइन् । समाजमा चेतना दिएपछि धेरै परिवर्तन आएको उनले बताइन् । सादा नेपालले गठन गरेको नागरिक समाज संजाल अहिले समाजको बिश्वासीलो संयन्त्र बनेको उनले बताइन् । ‘धेरै बालबालिका सानोमा विवाह गरेका कारण पढाइ छोड्न बाध्य छन् । उनीहरुको भबिस्य अन्योलमा परेको छ,’ उनले भनिन्,‘अब थप बालबालिकाको भबिस्य बनोस् भनेर हामीले बिभिन्न अयिभानहरु चलाइरहेका छौं ।’
समाजलाई चेतनाको बाटोमा हिडाउन नागरिक समाज संजाल अगुवा संस्थाका रुपमा सक्रिय भैरहेको उनले बताइन् । समाजका सदस्यहरुलाई सादा नेपालले तालिम दिएर चेतना अभियानमा परिचालन गरिरहेको उनले बताइन् । ‘समाजका सदस्यहरु समाजमा सक्रिय भएर काम गरिरहेका छन् । सबैजना समाजले बिश्वास गर्ने अबस्थामा छन्,’ उनले भनिन्,‘हाम्रो अभियान टोलटोलसम्म पुगेको छ । सबैको भरोसा बनेर काम गरिरहेका छौं ।’