राष्ट्रसंघको बडापत्र, विश्वब्यापी मानवअधिकारको घोषणापत्र १९४८, अन्तर्राष्ट्रिय नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी महासन्धि, अन्तर्राष्ट्रिय मानवीय कानून एवं रोम विधानसमेतले प्रत्याभूत गरेको नागरिकको सुरक्षित भएर बाँच्न पाउने अधिकारलाई नजरअन्दाज गरी रुसले विश्वको सुरक्षा तथा शान्तिमाथि खतरा उत्पन्न गराई शक्ति राष्ट्रको अधिकार दुरुपयोग गरे भन्दै समितिले यस्तो आग्रह गरेको हो।
समितिका तर्फबाट संयोजक चरण प्रसाईद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, “रुसी आक्रमण रोकेर युक्रेनी जनताको जीवन र धनजनको सुरक्षा गर्दै शान्ति बहाली गर्ने दिशामा संयुक्त राष्ट्रसंघ जस्ता विश्वव्यापी संस्थाहरूलाई प्रभावकारी कदम चाल्न पनि हामी जोडदार अपील गर्दछौं।”
विश्वको सुरक्षा, शान्ति, मानव अधिकार तथा लोकतन्त्रको रक्षा गर्ने अहम् तथा प्रथम दायित्व भएको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को पाँच स्थायी सदस्य मध्येको रुसले गरेको आक्रमण घोर निन्दनीय र खेदजनक भएको समितिको ठहर छ।