दाङ क्षेत्र नं. २ (ख) बाट निर्वाचित नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले पदबाट राजीनामा दिएका छन् । डाँगीले बुधबार सभामुख पूर्णबहादुर घर्तीलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।
राजीनामा बुझाएसँगै डाँगी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी गरेका छन् । मंगलबार नै डाँगीले सांसद पदबाट राजीनामा दिएपछि माओवादी प्रवेश गर्ने जानकारी दिएका थिए ।
यसअघि एमालेबाटै निर्वाचित सांसद दृगनारायण पाण्डेयले पनि पदबाट राजीनामा दिएर कांग्रेस प्रवेश गरेका थिए । डाँगीले राजीनामा दिएसँगै अब मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा ३८ सांसद हुनेछन् ।