विराटनगर महानगरपालिका–५ पृथ्वीचोकमा शुक्रबार राति एक जनाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । पृथ्वीचोक घर भइ राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा सूचक पदमा कार्यरत ४२ वर्षीय भोला सिंहको हत्या भएको हो । हत्या आरोपमा प्रहरीले उनका भाइ ३१ वर्षीय साजन सिंहलाई पक्राउ गरेको छ ।
लागूऔषध दुर्व्यसनमा फसेकाले साजनकी पत्नीले गत वैशाखमा औपचारिक रुपमा सम्बन्ध विच्छेद गरेको भए पनि उनलाई परिवारले संरक्षण दिँदै आएको विषयमा भएको विवादमा भोलाको हत्या भएको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए ।
‘मादक पदार्थको नसामा लट्ठ भएका साजनले राति १० बजे सम्बन्ध विच्छेद भइसकेकी आफ्नी पत्नीलाई संरक्षण दिएको विषयमा परिवारका सदस्यहरुसँग वादविवाद गरिरहेको अवस्थामा भोलाले सम्झाइबुझाइ गर्न गएका थिए,’ उनले भने, ‘सोही क्रममा भोलासँग पनि विवाद भएपछि साजनले धारिलो हतियार प्रहार गरी उनलाई घाइते बनाएका थिए ।’
घाँटी, टाउको र हात चोट लागेका भोलालाई उपचारका लागि विराट नर्सिङहोममा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिसीले बताए । ‘साजनले सोकेसको सिसाले भोलामाथि प्रहार गरेको प्रहरीलाई बयान दिएका छन्,’ उनले भने, ‘तर भोलाको शरीरमा लागेको घाउले धारिलो हतियार प्रहार भएको देखिए पनि हतियार बरामद भइसकेको छैन । खोजी कार्य जारी छ ।’ विवादका क्रममा साजन पनि घाइते भएको थिए । उनको विराट नर्सिङहोममा उपचार भइरहेको छ ।
घटनास्थलमा फुटेको कुर्सी, सिसाका टुक्राहरु छरिएको र रगतैरगत रहेको उनले सुनाए । यसअघि पनि विभिन्न आपराधिक घटनामा संलग्न भएका साजन घाइते भएर उपचार भइरहेकोले घटनाका तथ्यहरु बाहिर आउन बाँकी रहेको जिसीले बताए । साजनमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको उनले सुनाए ।
तालिम सकेर बिदामा आएका भोला कार्यालय फर्किने तयारीमा रहेको बेला हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिसीले बताए । हेटाैंडामा तालिम सकेर केही समयका लागि बिदामा आएका भोलाले शुक्रबारै एम्बुलेन्समा खोटाङ फर्किने तयारी गरेका थिए । तर अन्तिम समयमा एम्बुलेन्स नगएपछि उनी घरमै रोकिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले सुनाए ।
सिंहका दुई छोरा र पत्नी छन् ।