कोभिड-१९ को तेस्रो लहरका कारण रोकिएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का सबै परीक्षा ६ फागुनदेखि सञ्चालन हुने भएका छन्।
सीटीईभीटीले बुधबार सूचना प्रकाशित गरी यसअघि स्थगित परीक्षा पुनः सञ्चालन हुने जनाएको छ। मंगलबार बसेको सीटीईभीटीको बैठकले परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।
सीटीईभीटीको सूचनामा भनिएको छ, “स्थगन भएका सम्पूर्ण परीक्षाहरू कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) र नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गरी मिति २०७८/११/०६ गते देखि सञ्चालन हुने व्यहोरा मिति २०७८/१०/१८ गतेको निर्णयानुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।”
सीटीईभीटीले आङ्गिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षण संस्थाका सबै कार्यक्रमका परीक्षा गर्ने भएको हो। सबै कार्यक्रमकाे परीक्षा तालिका पनि सार्वजनिक गरेको छ।