१४ औं पुस्तकालय दिवसको अबसरमा “सबल समाजको आधार ः सार्बजनिक पुस्तकालयको बिकास र बिस्तार” भन्ने मुल नाराको साथ सामाजिक बिकास मन्त्रालयको आयोजना र संगम सामुदायिक पुस्तकालय गाईघाट उदयपुरको समन्वयमा भर्चुअल माध्यम जुम मार्फत बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपालमा सम्वत् १८६९ साल भाद्र १५ गते पुस्तक चिताइ तहविल नामक पुस्तकालयको स्थापना र सञ्चालन गर्न राजा गीर्वाणयुद्ध वीरवीक्रम शाहदेवले लालमोहर जारी गरेको ऐतिहासिक दिनलाई स्मरण गर्दै सम्वत २०६५ साल भाद्र १५ गते देखि पुस्तकालय दिवस मनाउन थालिएको हो ।
प्रदेश सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख फणीन्द्र खत्रीको अध्यक्षतामा साथै जि.स.स.महासंघ प्रदेश न.१ अध्यक्ष खोटाङ समन्वय प्रमुख बबि राई,नगर पालिका महासंघ प्रदेश अध्यक्ष इलाम नगर पालिका प्रमुख महेश बस्नेत,गाउँपालिका महासंघ प्रदेश अध्यक्ष कानेपोखरि गाउँपालिका अध्यक्ष तारा बहादुर काफ्लेको आतिथ्यमा रहेको उक्त कार्यक्रममा प्रदेश १ भरिएका ३० जना पुस्तकालय अभियानकर्मीको उपस्तिथि रहेको थियो ।
उक्त कार्यक्रममा पुस्तकालय ईतिहास बिकासक्रम सगै प्रदेश १ मा हालसम्म भएका गतिविधिहरु नेपालको सामुदायिक पुस्तकालय सम्बन्धी कानुनी ब्यवस्थाको बारेमा बृहत रुपमा छलफल गरिएको संगम पुस्तकालय गाईघाटका अध्यक्ष भरत खड्काले बताउनु भयो ।
उहाँले पुस्तकालय प्रयोगमा रुची जगाउने, अध्ययन संस्कृतिको विकास गर्ने र सूचना एवं ज्ञानमा आधारित समाज निर्माणको लागि वातावरण सृजना गर्ने, शैक्षिक कृयाकलापमा पुस्तकालयको प्रयोग तथा महत्वलाई बढाउने, पुस्तकालय तथा सूचना विज्ञानको क्षेत्रमा भएका प्रगति तथा गतिविधिहरू बारे आम नागरिकहरू, विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता, लेखक, पाठक, पुस्तकालय प्रेमी एवं अन्य सरोकारवाला निकायहरू बिच प्रचार प्रसार गर्ने लगायतका विभिन्न उद्देश्यका साथ पुस्तकालय दिवस मनाउन थालिएको जानकारी गराउनु भयो ।
कार्यक्रमका अतिथिहरुबाट हरेक स्थानीय तहको केन्द्रमा एक सुबिधा सम्पन्न सार्बजनिक पुस्तकालय स्थापना गर्ने र पुस्तकालयमा गएर पुस्तक पढ्ने बानीको बिकास गराउने प्रतिबदता ब्यक्त गर्नुभयो ।